काठमाडौं- माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने तयारी गरेसँगै एमाले नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा पर्ने भएको छ।
माओवादीले समर्थन फिर्ता लिए पनि तीन सांसद रहेको राजमोले साथ दिँदा प्रदेश सरकार जोगिन्थ्यो । तर, राजमोले पनि माओवादीले समर्थन फिर्ता लिएसँगै आफूले हात झिक्ने प्रस्ट पारेको खबर आजको नयाँ पत्रिका दैनिकमा नारायण ढुंगानाले लेखेका छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले नेकपाको सरकारलाई समर्थन गरेको, तर एमाले सरकारलाई समर्थन नगरेको बताए । केसीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिँदा आफ्नो पार्टीले पनि सँगै फिर्ता लिने जानकारी दिए।
औपचारिक जानकारी नदिए पनि आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको उनको तर्क छ । ‘हामीले नेकपाको सरकारलाई समर्थन गरेका हौँ, एमालेको सरकारलाई होइन । औपचारिक जानकारी नदिए पनि वर्तमान सरकारलाई हाम्रो समर्थन छैन । माओवादी केन्द्रले समर्थन फिर्ता गर्दा हामी पनि औपचारिक रूपमा सँगै फिर्ता लिन्छौंँ,’ उनले भने।
केसीले अझै पनि एमाले र माओवादी केन्द्र मिलेर अगाडि बढेमा आफूहरूको समर्थन रहने प्रस्ट्याए । त्यसका लागि केन्द्रमा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले राजीनामा दिँदा एमाले र माओवादी केन्द्रबीच सहकार्य गर्ने आधार तयार हुने बुझाइमा रहेका केसीले त्यसपछि सरकारमा पनि समस्या नहुने धारणा राखे।
सरकारबाट माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता गरेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारविरुद्ध सक्रियता बढाएको छ । सांसद कुमार खड्काको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेरै कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि अन्य दलहरूसँग वार्ता गरिरहेको छ।