काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख सहरका विद्यालय एक महिना बन्द गरी अनलाइन माध्यमबाट पठनपाठन गराउन सिफारिस गरेको छ।
मंगलबार मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशभरका ठूला सहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस गरिएको बताए।
‘कोरोना संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको छ’, उनले भने।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाको नयाँ भेरियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेका कारण बन्द गर्न सिफारिस गरेको बताए।
‘हामीले एक साता अगाडि नै विद्यार्थी संख्या धेरै भएका विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गर्न र थोरै विद्यार्थी भएका विद्यालयहरुलाई जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिने गरी सिफारिस गरेको छौँ’, प्रवक्ता गौतमले भने।
उनले विद्यालय बन्द नै गर्ने भन्दा पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने र विद्यालयले जिम्मा लिएर सञ्चालन गर्नेगरी मन्त्रालयले सिफारिस गरेको बताए।
यसअघि मनत्रालयले फिल्महल, पार्टी प्यालेस, मन्दिर लगायतका भीडभाड हुने क्षेत्र बन्द गर्न सफिारिस गरेको थियो। त्यस्तै रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउन पनि मन्त्रालयले सिफारिस गरेको छ।