काठमाडाैं- नेपाली कांग्रेसले कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न सरकारलाई आठ बुँदे सुझाव दिएको छ। सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहको कोभिड-१९ अनुगमन समितिले यस्तो सुझाव प्रस्तुत गरेको हो।
‘कोभिड-१९ को कू-व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामग्री खरीदमा भएको व्यापक भष्ट्राचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको हो।
कोभिड-१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरुमा देखिएका कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासीन भएका कारण अहिले फेरि कोभिड-१९ को संक्रमण फैलँदो छ,’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अहिले संक्रमितको संख्या ह्वातै बढेको र गम्भीर बिरामी भएर आईसीयूमा बस्नुपर्ने बिरामीहरुको संख्या र मृतकको संख्या पनि बढ्दो रहेकोप्रति कांग्रेसले ध्यानाकर्षण गराएको छ।
भविष्यमा अझ भयावह स्थिति आउनसक्ने सम्भावनालाई नेपाली कांग्रेसले गम्भीरताका साथ लिएको जनाइएको छ। कोभिड-१९ संक्रमण रोक्न आवश्यक कार्य तत्काल अगाडि बढाउन कांग्रेसले सरकारसँग माग गरेको छ।