काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला सहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा समेत छलफल गरिएको जानकारी दिए।
‘सहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ,’ उनले भने, ‘अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात/आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ।’
मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताP। ‘१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन,’ उनले भने, ‘अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिनसक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ।’
छ लाख पुग्ने प्रक्षेपण
मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए। ‘अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ,’ उनले भने।
उनले सङ्क्रमण बढ्न नदिनका लागि सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेसन सेन्टरमा राखिने बताए।
उनले नेपाल भारतको मुख्य सीमानाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए। उनले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए।
‘गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दीमा नगइकन रोकथाम र नियन्त्रण गर्न सक्षम छौं,’ उनले भने, ‘मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिँदैनाैं।’
मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकाले काठमाडाैं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट छ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्नसक्ने बताए। उनले अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्त्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए।
भारतमा सङ्क्रमण बढेकाले खोप आउन ढिलाइ
मन्त्री त्रिपाठीले भारतमा सङ्क्रमण ह्वात्तै बढेकाले कोभिड-१९ को खोप आउन ढिलाइ भएको जानकारी दिए।
‘खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टले बिनालगानी १० प्रतिशत कमिसन मागेपछि २५ दिन ढिला भयो,’ उनले भने, ‘तर सम्झौता हुने बेला भारतमा सङ्क्रमण बढेपछि त्यहाँका सरकारले आयात रोकिएका कारण नेपालमा खोप आउन सकेन।’ उनले चाँडै नै १० लाख मात्रा खोप ल्याउने जानकारी दिए।
स्वास्थ्यसचिव चाँडै
मन्त्री त्रिपाठीले मन्त्रालयले स्वास्थ्यसचिव पनि चाँडै नियुक्त गरिने जानकारी दिए। उनले मन्त्रालयमा रहेको स्वास्थ्यसचिवको दरबन्दी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएकाले नियुक्तिमा ढिलाइ भएको जानकारी दिए।
‘पहिले यहाँ रहेको स्वास्थ्यसचिवको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएको छ,’ उनले भने, ‘अब त्यो दरबन्दी यहाँ ल्याएर स्वास्थ्य सचिव हामी १०-१५ दिनमा नियुक्त गर्नेछाैं।’