काठमाडौं- एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ।
पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको खबर आजको नागरिक दैनिकमा टेपेन्द्र कार्कीले लेखेका छन्।
‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने।
उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिए पनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता गतिविधि गरेका छन्, त्यो बिल्कुलै पार्टी हितविपरित भएकाले अध्यक्ष ओलीले आन्तरिक छलफलमा सहकार्य असम्भव जस्तै रहेको बताउन थालेका छन्। यसबाट एमाले मिलाउनुपर्छ भनेर लागेका दुवै पक्षका सम्पर्क सूत्र पनि निराश भएका छन्।