काठमाडौं- माओवादी केन्द्र र जसपाको एउटा समूहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान कांग्रेससँग प्रस्ताव गरेका छन् । तर, कांग्रेसले अविश्वासको प्रस्ताव पारित हुने अंकगणितीय सुनिश्चितता तयार भएपछि मात्र यो विकल्पमा जाने जवाफ दिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अविश्वासको प्रस्ताव संसद्मा लैजाने विषयमा छलफल गरेका थिए।
स्रोतका अनुसार भेटमा देउवाले नयाँ सत्तासमीकरणबारे जसपामा एकमत बनिनसकेकाले हतारमा अगाडि बढ्दा जोखिम हुने बताएका छन् । उता नयाँ समीकरणलाई लिएर कांग्रेस र जसपाको एउटा समूहबीच घोचपेच देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेश शाहीले लेखेका छन्।
‘दुवै भेट नयाँ सत्तासमीकरणमा केन्द्रित थिए र अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल भएको हो । तर, कांग्रेस सभापति देउवाले अविश्वासको प्रस्ताव पारित हुने अंकगणितीय सुनिश्चितता खोज्नुभएको छ,’ भेटबारे जानकार एक नेताले भने, ‘अझै छलफल हुन्छ र एउटा निर्णयमा पुगिन्छ होला।’