पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने निश्चित भएको छ। नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएसँगै मुख्यमन्त्रीविरुद्धको अंकगणित प्रस्ट भएको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओलीपक्षको मात्र सरकार भएको टिप्पणी गरेका छन्।
गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको र त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुगेको विज्ञप्तिमा उल्लेख छ।
‘गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ। मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेका जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा हाम्रो समर्थन रहनेछ। तर, त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ।’
गत बुधबार माओवादीका दुई मन्त्रीले राजीनामा दिएका थिए। केपी ओेलीनिकट रहेका मुख्यमन्त्री गुरुङ यसअघि सबैभन्दा सुरक्षित अवस्थामा रहेका थिए।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव तयारी अवस्था रहेको भए पनि ती सिट रहेको जनमोर्चाले पार्टी केन्द्रबाट निर्णय हुनुपर्ने भनेपछि यसअघि तीन दल रोकिएका थिए। ६० सिट रहेको गण्डकी प्रदेशमा दुवैतर्फका लागि निर्णायक जनमोर्चा रहेको थियो।
सम्भावित मुख्यमन्त्री को?
मुख्यमन्त्री पाउने अवस्थामा चारवटै पार्टीको दाबी हुनसक्ने देखिएको छ। स्वतन्त्र सांसद मनाङ्गे पनि दाबी सुरु गरेका छन्। नेपाली कांग्रेसले पहिलो पार्टीका रुपमा दाबी गर्ने देखिन्छ।
सरकारमा रहेकाले बाहिर आएर सहयोग गर्दा स्वतः दाबेदारको रुपमा आफूहरु रहेको माओवादी केन्द्रको दाबी छ। त्यस्तै, जसपाले पनि दुई पार्टीको विवाद भएकाले आफूहरु दाबेदार भएको भन्दै आएको छ। जनमोर्चाले निर्णायक भएको हिसावले आफूहरु दाबेदार भएको बताउँदै आएको छ।
अहिले माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमान सरकारको गठबन्धन मिलाउन काठमाडौंमा अएर फर्केकाले उनी पनि दौडमा रहेको देखिन्छ। गुरुङ नेतृत्वको सरकारमा चुमानकै नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी भएको थियो। उनीहरुले गत सातामात्र राजीनामा दिएका थिए।
यस्तो छ अंकगणित
गण्डकी प्रदेशमा कूल ६० सांसद रहेका छन्। जसमध्ये एमालेसँग २८ सांसद छन्। कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई र जनमोर्चा तीन सांसद रहेका छन्। एक सांसद (दीपक मनाङ्गे अर्थात् राजिव गुरुङ) स्वतन्त्र सांसद छन्।
माओदीका सभामुख भएकाले एक भोट दिन पाउने अवस्था छैन। जनमोर्चा मिल्दा ३२ हुनेछ। त्यसमा सभामुखले मत दिन नपाएमा ३१ हुनेछ। स्वतन्त्र सांसद मनाङ्गेसमेत मिसिन आएमा ३२ हुनेछ।