काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् ।
शनिबार काठमाडौँमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताएका हुन् ।
संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इक्षा र आकांक्षा पुरा हुन नसकेकाले त्यस्ता मान्छेले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको बताए ।
अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उनले बताएका छन् ।
‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन्, प्रतिगमन भयो भनेर, अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरू छन । के हो प्रतिगमन भनेको ? यिनिहरुले परिवर्तन नै बुझेको रहेन्छन कि क्याहो ? परिवर्तन र उपलब्धिहरू हामीले जे प्राप्त गरेका छौं ति प्राप्त गरेका उपलब्धिहरू गुमे भने, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली स्थापना गरेका छौँ त्यो गुम्यो भने, त्यो व्यवस्थालाई सङ्गठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले संविधान खोस्या छ र ?’, उनले भने ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए । आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि उनले बताए ।
उनले भने,‘केही मान्छेहरुको महत्वकांक्षा पुरा हुन पाएन । लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो । आफुले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने । यस्ता शाब्दिक क्रान्तिकारीहरु नामका बामपन्थी, कामका दक्षिणपन्थी आफ्नै बहुमतको सुदृढ बहुमतको झण्डै दुई तिहाईको सरकार आफुहरुले नै उत्पात मच्चाएर ढाल्ने किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिंडदा हिंडदै कब्जा किला काँटा सबै फुत्कियो । अनि कब्जा गर्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ।’