काठमाडौं- गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।
यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन ।
यद्यपि, गण्डकीमा ओलीका समर्थक मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढल्ने वा नढल्ने भन्ने विषयमा टीकाटिप्पणी सुरु भइसकेको थियो ।
गण्डकीमा हाल नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ । गत २५ चैतमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएपछि सरकार धरापमा परेको थियो ।
यद्यपि, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइएको छैन । समर्थन फिर्ता नलिए पनि नयाँ सरकारका लागि नेपाली कांग्रेस माओवादी र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको साथ खोजिरहेका छन् ।
मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत
प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ । मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार साँझ भएको भेटमा गण्डकीको मुख्यमन्त्रीबारे टुंगो लगाएको हाे ।
अहिले काँग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोख्रेल छन् । नेपाली नै मुख्यमन्त्री बन्ने सम्भावना छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ ।
अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणीतीय रुपमा सम्भव भएको छ । अबकाे एक/दुई दिनमा नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ । दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ (सभामुखसहित) छन् । उनले सरकार गठनमा मत दिने छैनन् ।
राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका दुई मन्त्रीले राजीनाना दिएसँगै मुख्यमन्त्री गुरुङले बहुमत सुरक्षित गर्न राष्ट्रिय जनमोर्चालाई सरकारमा सहभागी गराउने प्रयत्न गरेका थिए ।
तर जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि गुरुङ नेतृत्वको सरकार ढल्ने र कांग्रेसको नेतृत्व नयाँ सरकार बन्ने निश्चित जस्तै भएको छ । यद्यपी, राष्ट्रिय जनमोचा भने नयाँ सरकारमा समेत सहभागी नहुने बताएको छ ।
जसपाको पनि मुख्यमन्त्रीमा दाबी
पृथ्वीसुब्बा सरकारको विकल्पमा जाने ३ दलको सहमति भए पनि नेतृत्वबारे छलफल चलिरहेकै बेला जसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेकाे छ। दुई सदस्य मात्र रहेको जसपाले नेतृत्वमै दाबी गर्ने सांसद हरिशरण आचार्यले बताएका छन् ।
चार भोट नपाए गण्डकी प्रदेश सरकार फेरिने पक्का, यी हुन् सम्भावित मुख्यमन्त्री, यस्तो छ अंकगणित
मुख्यमन्त्री गुरुङ हटाउन जनमोर्चालाई कुर्दै कांग्रेस र माओवादी केन्द्र
गण्डकीका मुख्यमन्त्री गुरुङ संकटमा : भाेली नै सरकार ढल्ने निश्चित