काठमाडौं- नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ।
केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम नरोकिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन।
मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौँ, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ।
विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ। त्यस्तै काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ ।
दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ। काठमाडौँमा दुई दिनअघि शिवपुरी जङ्गलमा उच्च डढेलो लागेको थियो।
पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ । नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको छ ।
मुख्य गरी नेपालका पश्चिमी क्षेत्र र केही पहाडी भेगमा आगामी दुई दिन हल्कादेखि मध्यम वर्षा हुने लक्षण देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मञ्जु बासीले सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा अन्य क्षेत्रका स्थानभन्दा बढी वर्षा हुने आकलन रहेको बताइन्। तराई भेगमा वर्षाको सम्भावना न्यून छ । पहाडी भेगले छुने भएकाले काठमाडौँमा छिटपुट वर्षाको सम्भावना रहेको बासीले बताइन्।