गोरखा- विद्यालयमा विद्यार्थी संख्याअनुसार शिक्षकको दरबन्दी नहुँदा शैक्षिक गुणस्तर असर नहुनका लागि जिल्लाकाे सहिद लखन गाउँपालिकाले निजी स्राेतबाट तलव खुवाउन आर्थिक सहयोग संकलन सुरु गरेकाे छ ।
शहिद लखन गाउँपालिका–७ बुङकोटस्थित चण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग संकलन गरिएको हो ।
आगामी शैक्षिक सत्र देखि निजी स्रोतबाट शिक्षक राख्न आर्थिक सहयोग संकलन सुरु गरिएको वडा ७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
उनका अनुसार हाल सम्म करीब पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । अभियान शुरु गरेको पहिलो दिनमा नै चार लाख ९४ हजार ५४० सहयोग प्राप्त भएको थियाे ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, विद्यालयका शिक्षक, समाजसेवी, भूतपूर्व विद्यार्थी, कर्मचारीलगायतबाट आर्थिक सहयोग प्राप्त भएको श्रेष्ठको भनाइ छ ।
प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ । श्रेष्ठका अनुसार हाल सम्म अधिकतम २८ हजारदेखि न्यूनतम पाँच हजारसम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको छ ।
थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता आइरहेको उनले बताए ।
‘विद्यालयमा शिक्षकको दरबन्दी कटौती गर्दा कक्षा संचालन गर्नका लागि कठिनाई भइरहेको छ । एउटै शिक्षकले सबै विषय पढाउन पर्ने बाध्यता छ,’ उनले भने, ‘निजी स्रोतका शिक्षक राख्न विद्यालय र गाउँपालिकासँग स्रोत छैन । त्यसैले शिक्षकको व्यवस्थापन गरी गुणस्तरीय शिक्षा दिन आर्थिक सहयोग सङ्कलन गरेका हौँ ।’
शिक्षाको गुणस्तरमा असर नपुग्ने गरी निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउनका आर्थिक स्रोत जुटाउन थालिएको हाे । आर्थिक सहयोग संकलन पश्चात विद्यालयले निजी स्रोतमा शिक्षक राख्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए ।