काठमाडौं- नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।
कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ। तर, केही जिल्लाको क्रियाशील सदस्य विवाद हालसम्म पनि समाधान भएको छैन। आजको केन्दीय समिति बैठकमा हाल प्रदेशमा देखिएको राजनीतिक अस्थिरता तथा सत्तासमीकरणबारे पनि छलफल हुने बताइएको छ।
यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशमा पनि माओवादी केन्द्रसँग सहकार्य गरी एमाले सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी कांग्रेसले गरेको छ।