गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकामा आलु बिउ भण्डारण केन्द्र निमार्ण गरिएको छ । गाउँपालिकाको वडा नम्बर नं ७ स्थित सिरानगाउँमा १९ लाख रुपैयाँ लागानीमा आलु बिउ भण्डारण केन्द्रको निर्माण गरिएको हो । आलुको विउलाई लामो समयसम्म सुरक्षित राख्न आलु भण्डारण केन्द्र निर्माण गरिएको नमुना कृषक समुहका अध्यक्ष सुर्य गुरुङले बताए ।
गाउँमा उत्पादन हुने आलुको विउ लामो समयसम्म सुरक्षित राख्न नसक्दा विग्रने र खेर जाने भएकाले भण्डारण केन्द्र निर्माण गरिएको उनले बताए । स्वाँरा सघन गाउँ बिकास केन्द्रले सिआरएससँगको साझेदारी र गाउँपालिकाको समन्वयमा भण्डारण केन्द्रको निर्माण गरिएको हो ।
उत्त आलु भण्डारण केन्द्रमा १३ टन सम्म आलु भण्डारण गर्न सक्ने क्षमता रहेको उनले जानकारी दिए । यस अघि घरमै परम्परागत प्रविधि अनुसार आलुको बिऊ राख्दा तापक्रम नमिल्ने, छिटो उम्रने, बिउ चाउरी पर्ने जस्ता समस्याबाट किसान हैरान हुने गरेका थिए। केन्द्रको निर्माण संगै स्थानियले खुशी भएका छन् ।
यो क्षेत्र आलु उत्पादनका हिसावले उत्कृष्ट क्षेत्र मानिदैँ आएको छ । यहाँ करिब २ सय घर धुरी रहेको सिरानगाँउ क्षेत्रमा प्रत्येक परिवारले कम्तिमा ३ मुरी आलु उत्पादन गर्दै आएका छन् । सो भण्डारण केन्द्रको गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज आधिकारी र गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले सयुक्त रुपमा गत सोमबार नमुना कृषि समुह लापुलाई हस्तान्तरण गरिएको थियो ।