काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट बर्खास्त भएका छन्। आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह)मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो।
माओवादी केन्द्रले दर्ता गराएको सूचनाअनुसार संघीय संसदले उनको सांसद पद खारेज भएको जानकारी गराएको हो। योसँगै उनको मन्त्री पद पनि गएको छ तर सांसद नरहँदा पनि ६ महिनासम्म पुनः मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। त्यसपछि भने उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित हुनुपर्ने हुन्छ। अन्यथा मन्त्री रहन पाइन्न।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि तत्कालीन नेकपा दुई समूहमा विभाजन भएको थियो। त्यस क्रममा प्रचण्ड छाडेर गृहमन्त्री थापासहित माओवादीका २३ जना केन्द्रीय नेता ओली समूहमा सामेल भएका थिए। संसद् पुनःस्थापनाको फैसलापछि सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता अवैधानिक भएको ठहर गर्दै यसमा मिसिएका एमाले र माओवादी केन्द्रलाई मान्यता दिने फैसला गर्यो।
त्यसपछि नेकपामा रहेका दुई पार्टीका नेताहरू आआफ्ना पार्टीमा फर्के पनि गृहमन्त्री थापासहित २३ नेता एमाले अर्थात् ओली समूहमै रहे। तसर्थ नेकपा माओवादी केन्द्रले उनीहरूलाई स्पष्टीकरणपछि पार्टीको साधारण सदस्यबाटै बर्खास्त गरेको हो भने सांसद रहेकालाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित भएको पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुसार संघीय संसदलाई कारबाही अघि बढाउन सूचना गरेको हो।
सोहीबमोजिम संघीय संसदले उनीहरूको सांसद पद खारेज गरेको हो। यसअघि एमालेमा प्रवेश गरेका अन्य पूर्वमाओवादी नेताका सांसद खारेज भइसकेको छ भने मन्त्री रहेकालाई प्रधानमन्त्री ओलीले ६ महिनाका लागि पुनः मन्त्री पदमा नियुक्ति दिइसकेका छन्। अहिले उनको मन्त्रिमण्डलमा यस्ता प्रकृतिको मन्त्रीको संख्या ६ पुगिसकेको छ। थापाको पुनर्नियुक्ति हुँदा यस्तो मन्त्रीको संख्या ७ पुग्नेछ।