काठमाडौं- नेकपा (एमाले) अनुशासन आयोगले पार्टी विवाद मिलाउन गत फागुन २८ गतेको निर्णय सच्याउन अनुरोध गरेको छ। आयोगका अध्यक्ष अमृतकुमार बोहराले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीपक्षले बैठकमा असहमत पक्षलाई कुनै सूचना नदिएर निर्णय गरेकाले तत्काल सच्याउन आग्रह गरेका हुन्।
पार्टीमा बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजिनुपर्नेमा उल्टै सोमबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर स्थितिलाई थप असहज नबनाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ।
‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजिनुपर्नेमा उल्टै २०७८ वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ। यसलाई तत्काल रोकिनुपर्दछ। उत्तेजना, आवेग र अभिमान हाबी भएर कुनै पनि निर्णय गर्नु हुँदैन। पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ’ बोहराले भनेका छन्।