काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा एक हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर पाँच हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो।
पीसीआर परीक्षण गरिएकामध्ये एक हजार १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार गत २४ घण्टामा पहिचान भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना छन्। ती मध्ये भक्तपुरका ४५, ललितपुरका ६४ र काठमाडौंका ३२६ जना रहेका छन्।
हाल देशभर छ हजार २९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा पाँच हजार ७१४ जना रहेका छन्। यस्तै देशभर ११६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।
गत २४ घण्टामा २६२ जना कोरोनामुक्त भएको डा. गौतमको भनाइ छ। यस्तै देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन्। उनका अनुसार गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८३ जना पुगेको छ।