काठमाडाैं- नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले वरिष्ठ नेता माधवकुमार नेपालसहित २० नेतालाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ।
साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठलले कर्णाली प्रदेश सभामा ‘फ्लोर क्रस’ गराउन भूमिका खेलेको आरोपमा नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे हाे।
स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने जनाइएकाे छ। समितिको अर्को बैठक १० गते फेरि बस्नेगरि स्थगित भएको छ। १० गतेको बैठकमा अध्यक्ष केपी शर्मा अोलीको राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने बैठकले निर्णय गरेकाे छ। परिषद् बैठकले विधान सम्मेलनको तयारी र विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ। यता, ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन्।
कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सय भन्दा बढी नयाँ सदस्यहरुलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो। पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते प्रचण्ड–माधव पक्षले कार्की बैंक्वेटमा अलग्गै बैठक राखेको थियो।
सोही दिन बालुवाटारमा बसेको ओली पक्षको बैठकले ४४१ जनालाई नेकपा केन्द्रीय कमिटी सदस्य थप गरेको थियो। सर्वाेच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले-माओवादी केन्द्र ब्युँताएको थियो। अहिले दुवै पार्टीले अलग-अलग काम गरिरहेका छन्। एमालेभित्र नेपाल-खनाल पक्ष ओलीविरुद्धको मोर्चाबन्दीमा छ।