काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अविश्वासको प्रस्ताव दर्ता भए एमालेको माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्ने विश्वास व्यक्त गरेका छन्। कर्णाली प्रदेशमा माधव पक्षकै बलमा माओवादी केन्द्र नेतृत्वको सरकारले बहुमत पाएको बताउँदै कोइरालाले अविश्वासको प्रस्ताव ल्याए केन्द्रमा पनि बहुमत प्राप्त हुने आकलन गरे।
नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसमा भएको कार्यक्रममा सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै कोइरालाले भने, ‘शेरबहादुर जी तपाईले संकल्प गर्नैपर्छ। ओली सरकारको नेतृत्वमा निर्वाचनमा गए हामी धेरै कमजोर हुन्छौं।’ सभापति देउवाले अग्रसरता लिए कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना रहेको उनले बताए।