काठमाडौं- भयावह बनिरहेको कोरोना संक्रमणका कारण चौतर्फी सन्त्रास छ, संक्रमित बढेकाबढ्यै छन् । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ ।
तर, प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा मंगलबार तामझामसहित बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवन ल्याइँदै छन् । रथमा मूर्ति राखेर करिब पाँच सय सवारीसाधनसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुगकाे खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट विवेक पोखरेलले लेखेका छन्।
प्रधानमन्त्री ओलीले गत वर्षको २९ असारमा बालुवाटारमा मनाइएको २०७औँ भानुजयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनको अयोध्यापुरी भएको दाबी गरेका थिए । त्यसलगत्तै उनले माडीका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिएका थिए । आगामी वर्षको चैते रामनवमीका दिन मूर्ति अनावरण गर्दै मन्दिर उद्घाटन गर्ने घोषणा उनले गरेका थिए।
प्रधानमन्त्री ओलीले सरकारीनिवास बालुवाटार राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाउन लगाएका थिए । मंगलबार ती मूर्ति उनले स्वस्तिवाचनसहित धार्मिक विधिबाट हस्तान्तरण गर्ने कार्यक्रम छ । आफ्नै खर्चमा मूर्ति निर्माण गरिएको उनले बताउँदै आएका छन्।
अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालका अनुसार प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गरेपछि रथ, बग्गीसहितको कलशयात्रा र करिब पाँच सय सवारीसाधनसहितको शोभायात्रा मूर्ति बोकेर चितवनका लागि हिँड्नेछ । शोभायात्रा साँझ चितवनको तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा पुग्नेछ । नागढुंगाबाट भने रथमा रहेका मूर्तिलाई गाडीमा राखेर ल्याइनेछ।