काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्ने भएको छ। मंगलबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ। हिजोको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएकाले आज पनि बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेता श्रेष्ठका अनुसार बुधबार बस्ने बैठकका लागि विभिन्न विषयसँग सम्बन्धित ६ बुँदे कार्यसूची तयार गरिएको छ। बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने बताइएको छ। यस्तै, विभिन्न जिम्मेवारीमा रहेका स्थायी कमिटी सदस्यहरुले पनि बुधबारको बैठकमा रिपोर्टिङ गर्ने जनाइएको छ। बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा सदस्यहरुलाई ब्रिफिङ गर्ने कार्यक्रमसमेत रहेको छ।
आजको बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव तथा यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे छलफल हुनेछ। यस्तै, आगामी केन्द्रीय कमिटी बैठकबारे पनि बुधबार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ। बैठकमा नयाँ सरकार गठन र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुने नेता श्रेष्ठले जानकारी दिए।
त्यसैगरी, बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको, कोभिडको दोस्रो लहर तथा विभिन्न पार्टीसँग भइरहेको राजनीतिक वार्ताबारे पनि छलफल हुने बताइएको छ।