काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। काठमाडौंको नक्सालस्थित मेरियट होटेलमा दुवै नेताहरू करिब दुई घण्टा वार्ता सकिएकाे हाे ।
पार्टीमा देखिएको आन्तरिक विवादका बीच बुधबार साँझ दुई नेता वार्ताका लागि काठमाडौंको नागपोखरी-नक्सालमा रहेको मेरियट होटल पुगेका थिए। कुराकानी के-कस्तो भयो भन्ने बाहिर आइसकेको छैन । तर, होटलबाट निस्किँदा नेपालको बडील्याङ्वेज सकारात्मक नै थियो । यद्यपि, दुवै नेताले मास्क लगाएकाले अनुहारको भाव देख्न सकिएन ।
तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा प्रतिक्रिया दिन मानेनन्। वार्तास्थलमा भेटिएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले वार्ता सकारात्मक भएको हुनसक्ने बताए।
नेताद्वय म्यारियट होटल पस्दा मिडियाकर्मीले सूईंको नै पाएका थिएनन् । तर, उनीहरु दुई घन्टा वार्ता गरेर निस्कँदा होटल परिसरमा पत्रकारको घुँइचो लागिसकेको थियो । एकछिन हुलमुलकै अवस्था आएका थियो । पत्रकारले नेपाललाई रोकेर प्रतिक्रिया माग्न खोज्दा नेपाल पन्छिए । ‘साथीहरुसँग सल्लाह गरेर मात्रै बोल्छु’ भन्दै उनी गाडीभित्र छिरे ।