गोरखा– आजसम्म नेपाली समाजमा कम्युष्टिहरु प्रतिको दृष्टिकोण र बुझाई फरक छ । कम्युनिस्टहरू सामान्य जीवनयापनमा रमाउँछन् भन्ने बुझाई नेपाली समाजमा मात्र होइनन् विश्वभर स्थापित छ । तर पछिल्लो समय नेपालमा कम्युष्टिहरु बढी ‘शोखिनदार’ हुने प्रवृत्ति हाबी बन्दै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म रोगको रूपमा यो विकास भैसकेको छ । पद, पैसा र प्रतिष्ठाको लागि मरिहत्ते गर्ने कम्युनिस्ट प्रवृत्ति आजको नेपाली कम्युनिस्ट राजनीतिको सबैभन्दा विकृत रूप हो । त्यसै मध्यको एउटा पात्र हुन् गोरखाका आफूलाई सच्चा कम्युष्टि नेता भन्न रुचाउने चूडामणि खड्का ‘प्रकाश’ ।
गत संसदीय निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका चुडामणी खड्काको व्यवहार हिजोको ‘पञ्चे’हरूको भन्दा फरक छैन । केही समय ‘प्रचण्ड’को सचिवालयमा बसेका उनी आफूलाई ‘मिनी प्रचण्ड’ भन्न रुचाउँछन् । जिल्लाबाट प्रचण्डलाई भेट्न आउने कतिपय नेता तथा कार्यकर्ताहरूलाई उनी प्रचण्डलाई भेट्नुभन्दा आफूलाई भेट्न निको ठान्छन् ।
सांसद बनेपछि खड्काले जिल्ला भित्रका विभिन्न कार्यक्रमहरूमा प्रमुख अतिथिको लागि मरिहत्ते गर्ने गरेको रहस्य बाहिर आएको छ । कतिसम्म भने धेरै रकम दिएर प्रमुख अतिथि बन्ने लिगलिगे दौडमा उनी सहभागी हुने गरेको तथ्यहरू सार्वजनिक भएको छ । त्यति मात्र होइनन्, आँखै छोपिने गरी फुल माला लगाउने, भुईँमा ओछ्याइएको रातो कपडा र फिर्के सलामीको पनि उनी उत्तिकै शोखिनदार हुन् । उनले आजसम्म जिल्लाभरको विभिन्न कार्यक्रमहरूमा प्रमुख अतिथि बनेको मात्र लगभग १ करोड मौखिक रकम तिर्न बाँकी छ ।
आज हामीले जिल्लाका केही त्यस्ता प्रतिनिधिमूलक घटना मात्र यहाँ प्रस्तुत गरेका छौँ ।
वाचा न १ : २०७६ साल मङ्सिरमा गण्डकी गाउँपालिका वडा न ८ घ्याल्चोक बेन गाउँमा मुन्तला महोत्सव भयो । उक्त महोत्सवमा गोरखा क्षेत्र न १ का निर्वाचित सांसद हरिराज अधिकारीलाई पछि पार्दै खड्का प्रमुख अतिथि बने । कारण आयोजकलाई प्रमुख अतिथि बन्ने र केही रकम सहयोग गर्ने सर्त थियो । तर विडम्बना भनौँ आयोजकलाई खड्काले आजसम्म एक रुपैयाँ समेत दिएनन् । उल्टै उनले आयोजकलाई उक्त भूगोल मन परेको भन्दै आफ्नो व्यक्तिगत प्रयोजनको लागि २ रोपनी जग्गा खोजिदिनु भन्दै काठमाडौँ हानिए ।
गोरखा क्षेत्र नम्बर १ का सांसद अधिकारी माओवादी केन्द्रको पार्टी संरचनामा चूडामणिभन्दा सिनियर हुन् । तर, हरिराजले खड्कालाई आफूभन्दा माथि राखेर व्यवहार गराउने गरेको गोरखाको कार्यकर्ताहरूको ठुलो गुनासो छ । सांसद खड्का गोरखाका कतिपय केन्द्र, प्रदेश र स्थानीय तहका नेता कार्यकर्ता माथि हाबी हुने गरेको ठुलो कार्यकर्ता पत्तिको आरोप छ ।
अर्को तर्फ सांसद अधिकारी पनि खड्कालाई नेता मान्न तयार छन् । जनयुद्धमा त्याग गरेको नेता भए तापनि सांसद अधिकारीको अध्यक्ष प्रचण्डसँग गएर आफ्नो कुरा राख्ने ल्याकत नभएको कार्यकर्ताको भनाई छ । पार्टी अध्यक्ष प्रचण्डसँग आफ्नो कुरा राख्नको लागि सजिलो माध्यम खड्का भएकोले सांसद अधिकारीले खड्कालाई देउता सरह मान्ने गरेको कार्यकर्ताहरूको आरोप छ ।
उसो त २०७५ को प्रथम मुन्तला महोत्सवमा प्रमुख अतिथि बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि ५० लाख दिने वाचा आजसम्म कार्यान्वयन भएन । प्रदेश सरकार अहिले धरमराई रहेको समयमा मुख्यमन्त्रीले ३ बर्सअघि बाचा गरेका रकम आजसम्म प्राप्त गर्न नसकेपछि स्थानीय चिन्तित बनेका छन् ।
वाचा न २ : अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारमा युवा क्लबले गाउँपालिका स्तरीय कार्यक्रम आयोजना ग¥यो । कार्यक्रम सांसद खड्कालाई प्रमुख अतिथि बनाउने सहमति बन्यो । त्यो पनि ५ लाख दिने सर्तमा । तर, सांसद खड्का कार्यक्रम गएनन् र उनले आफ्नो प्रतिनिधि पठाए । प्रतिनिधि पठाएका व्यक्ति थिए व्यवसायी दुर्गालनल श्रेष्ठ । श्रेष्ठले ५० हजार मात्र दिएको भन्दै स्रोत भन्छ– ‘२०७६ को असोजमा भएको कार्यक्रमा सांसद खड्कालाई प्रमुख अतिथि बनाउने गरी कार्यक्रम आयोजना गरियो । तर सांसदज्यू आउनुभएन । उहाँले दिन्छु भन्नुभएको रकममा ५० हजार मात्र दिनुभयो । अहिले हामीले मिलाएर ऋण खोजेर पैसा मिलायौ । धेरै चोटि माग्न जाँदा पनि नदिएपछि अब ऋण कसरी चुक्ता गर्ने भन्ने चिँतमा हामी छाैं,’ क्लवका एक सदस्य गुनासाे गर्छन् ।
वाचा न ३ : सिरानचोक गाउँपालिका वडा न ८ जौवारिको बल्खुमा २०७६ मा फुटबल प्रतियोगिता आयोजना भयो । यो प्रतियोगितामा प्रमुख अतिथि बनेका थिए उही सांसद खड्का । त्यो पनि ५ लाख दिने सहमतिमा । तर, २ वर्ष भइसक्दा न त त्यो आयोजकले पैसा पाए न त सांसद खड्काको नै फोन उठ्याे । आयोजक क्लबका सदस्य अहिले उधारोमा भएको पैसा बेरुजुमा राख्दै अडिट रिपोट बनाएका छन् । आयोजकलाई क्लबको पैसा खोइ भन्दै अहिले क्लबका पदाधिकारी प्रश्न गर्ने गरेका छन् ।
वाचा न ४ : जिल्लाको सबैभन्दा पुरानो विद्यालय अमर ज्योति जनता माध्यमिक विद्यालयले वार्षिक उत्सव आयोजना ग¥यो । उक्त कार्यक्रमको पनि प्रमुख अतिथि सांसद खड्का नै भए । सांसद खड्काले विद्यालयलाई २५ लाख आर्थिक सहयोग गर्ने बचनका साथ प्रमुख अतिथि बनेका थिए ।
सांसद खड्काले विद्यालयलाई २५ लाख आर्थिक सहयोग नगरे पछि विद्यालय व्यवस्थापन समितिले नै भर ताल गर्न सकेनन् । आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षण प्रतिवेदनमा विद्यालयले पैसा सांसद खड्काले दिने बाचा गरेको तर अहिलेसम्म नदिएको भन्दै वार्षिक प्रतिवेदन तयार गरी सार्वजनिक ग¥यो ।
राजनीतिमा हरेक असम्भव कुरा पनि सम्भव हुन्छ भन्छन् । तर, जिल्लामा राजनीति गर्ने नेताहरू तत्कालका लागि फाइदा र लाभ हुने हिसाबले सस्ता भाषण गर्दै हिँड्छन् र बोलेका वाचा पूरा गदैनन् । जिल्लामा हुने हरेक ठेक्का पट्टामा १० प्रतिशत कमिसन उनको हातमा परे पछि मात्र विकासका काम हुने र जिल्लामा चलेका अन्य ठेक्कामा पनि सिधै उनको कब्जामा हुने चर्चा अझै सेलाउन पाएको छैन । भलै उनी अहिले काठमाडौँ केन्द्रित भए । तर, अझ कतिसम्म भने जिल्लाभित्रका केही ठेकेदारले उनको अनुमतिविना काम गरेको भन्दै जिल्लाका प्राय आयोजना अहिले पनि अलपत्र छ । त्यस मध्येको एक हो- १२ किलो–छेवेटार–चोरकाटे सडक । यो सडकको जिम्मा उनी निकटका ठेकेदार उत्तम भट्टले पाएका छन् । निर्माण जिम्मा पाएको ४ बर्षसम्मपनि यो सडक पिच गर्न सकिरहेका छैनन् ।
ठेकेदार भट्ट डा. बाबुराम भट्टराई प्रधानमन्त्री/अर्थमन्त्री भएको समयमा जिल्लाका धेरै आयोजना हात पारि काम नगर्ने ठेकेदारभित्रका सूचिमा पर्छन् । भलै अहिले उनी खड्का नजिक भए । तर पनि जिल्लाका नयाँ ठेक्का पाउन सकिरहेका छैनन् । सांसद खड्का यस्तै आयोजनाबाट कमिसन उठाएर ति वाचा गरेका ठाउँमा बाँड्ने भन्दै जिल्लामा हुने गरेका हरेक कार्यक्रम जाने र सस्ता र लोकप्रिय भाषण गदै हिँड्ने गर्थे । अहिले कोरोनाले देश नै थिलथिलो भएको समयमा उनी काठमाडौँमा नै छन् ।
काठमाडौँमा आलिसान बङ्गला रहेको उनको घरमा जिल्लाका नेता तथा कार्यकर्ताको कुनै बेला लाइन लाग्थ्यो । कतिसम्म भने हरेक बिहान चिया र बेलुकीका चियादेखि दारु खान समेत नेता तथा कार्यकर्ता उनको घरमा जान्थे । तर, अहिले उनी एक्लो भएका छन् ।
उनलाई सबैले छेड्या । उनीसंगै लामो समयसँगै काम गरेका र अहिले मंगाेलन पार्टीमा लागेका बारपाकका नवीन घलेबिच त सामाजिक सञ्जालमा वाक्युद्ध नै चल्यो । यो क्रम अझै पनि जारी छ । उनलाई भेट्न जाने नेता तथा कार्यकर्तालाई अहिले भन्ने गर्छन्– ‘अब प्रतिनिधि सभा क्षेत्र न २ मा प्रत्यक्ष सांसदका लागि निर्वाचन लड्ने हो । यसमा तपाईँहरूले मलाई सहयोग गर्नु प¥यो ।’