काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् । नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिए ।
मदननगर बल्खुमा विहीबार विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने बुझाउने प्रयास भएको छ,’ उनले भने, ‘व्यक्तिगत तवरमा कुरा हुन सक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ । मेरो गुट भनेर भागबण्डा गर्ने अब चल्दैन ।’ प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने स्पष्ट पार्दै उनले भनेछ, ‘पार्टीमा जे पनि गर्न पाइने, अराजकता निम्त्याउने, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । पार्टी विरोधी र गुटका गतिविधिलाई मान्यता दिँदैनौं ।’
याे पनि
बल्खुमा यस्तो बन्नेछ एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय, ओलीले गरे शिलान्यास
माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे । ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’
‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,’ उनले भने । ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आएका छन् । बुधबार साँझमात्रै ओलीले नेता माधव नेपालसँग छलफल गरेका थिए ।