गाेरखा- विद्यालयमा पढ्ने विद्यार्थीले के गर्लान् ? तपाँईको सजिलो उत्तर पढ्ने, लेख्ने आदि तर जिल्लाकाे शहीद लखन गाउँपालिकाको-९, नाम्जुङमा अध्ययन गर्ने दुई विद्यार्थीले पढाईको साथ-साथै विद्यालयमा कपाल काटेर आफ्नो पढाई खर्च जुटाउँछन् त्यो पनि विद्यालयमा नै ।
गाउँपालिकाको नमूना विद्यालयका रूपमा रहेकाे जनशक्ति माध्यमिक विद्यालयका कक्षा १० का अध्ययन गर्ने मिलन बिक र रामशरण भण्डारीले पढाई खर्च जुटाउँन विद्यालयमा नै कपाल काट्ने गर्नेछन् । उनीहरूलाई कपाल काट्ने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि कापी बताउछन् ।
‘एक विद्यालय एक सीप’ कार्यक्रम अन्तरगत विद्यालयले संचालन गरेको कपाल काट्ने सीपलाई प्रयोगमा ल्याईएको हो’, प्रधानाध्यापक काप्री भन्छन् ‘कार्यक्रमले विद्यार्थीको सीपको पनि प्रयोग हुने, आम्दानी पनि हुने, कपाल काट्न सदरमुकामसम्म जानु पनि नपर्ने, समय र पैसा सवैको वचत हुने, यस्तो कार्यक्रम नेपालमै पहिलो हाे ।’
कपाल काट्न परे विद्यालयको प्रशासन शाखामा गएर ५० को रसिद काट्नु पर्दछ । ५० मध्ये ३० कपाल काट्ने विद्यार्थी र २० विद्यालयले लिने विद्यालयका लेखा सहायक निर्मल श्रेष्ठले जनाए । यसरी यस आर्थिक बर्षमा विद्यालयले कपाल कटाएर २ हजार ७ सय आम्दानी गरेको उनले बताए ।
स्कुलका विद्यार्थीको कपाल लामो हुने, गाउँमा कपाल काट्ने मान्छेको अभाव हुने, कपाल काट्न गोरखा सदरमुकामसम्म जान समय र खर्च वढ्ने भएकाले विद्यालयलेनै कपाल काट्ने कैची, कपाल काट्ने घर, कुर्ची, २ ओटा ऐना लगाएतको पुर्वाधार बनाएको र अझै बजारको जस्तै छिटो कपाल काट्न आवश्यकता अनुसार कपाल काट्ने मेसिनको खरिद गर्ने विद्यालयकाे याेजना रहेकाे छ ।
विद्यालयका विद्यार्थीले खाजा समयमा, खाली पिरियड भएको समयमा, स्कूलको अध्ययन समयभन्दा पहिले वा पछाडी कपाल काट्दै आएका छन् । स्कूले विद्यार्थीका अलवा गाउँलेहरु पनि विद्यालयमा कपाल काट्न आउने र कपालको कटाई बजारका व्यवसायिक नाऊको जस्तै भएको स्थानीय अभिभावक राजाराम बस्नेतले जनाए ।