काठमाडौं- गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् ।
डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँताइदिएर ०७५ जेठ २ गतेको अवस्थामा पुर्याइदियो । तपाईंको चाहना पनि त्यही थियो । मैले पनि सबैभन्दा पहिले विज्ञप्ति जारी गरेर ज्यादै राम्रो निर्णय भयो भनेकै हो । तर, भोलिपल्टदेखि तपाईंले बदला लिन थाल्नुभयो । त्यसपछि समर्थन गर्नु बेकार रहेछ भन्ने मलाई पनि प¥यो । सर्वोच्चले गरिदिएको नेकपा विभाजनका घटनाक्रम जोडेर हेर्दा सबै निर्देशित ढंगले भएका हुन् र त्यसमा कुनै न कुनै किसिमको लेनदेन भएको देखिन्छ । तैपनि, यसलाई सकारात्मक रूपमा लैजान जसरी म तयार छु, त्यसैगरी माधवहरू पनि तयार छन् ।’
गौतमको विश्लेषण सुनेपछि प्रधानमन्त्रीले कडा शब्दमा ‘त्यसोभए उनीहरूले समानान्तर संगठन सञ्चालन किन गरेको ?’ भनेर सोधे ।गौतमले राजनीतिको भित्री कुरा खोल्दै भन्न थाले, ‘विद्रोही भएपछि समानान्तर हुन्छ अनि पछि विभाजन हुन्छ । विभाजनको आफ्नै तयारी हुन्छ । पार्टीभित्र जिम्मेवारहरूले सहमति नगर्ने हो भने विद्रोहीलाई पदको कुनै लोभ हुँदैन । सांसद पद गए जान्छ । पार्टीका पद पनि गए जान्छ तर हामी कसैको टाङमुनि छिर्दैनौं भन्नेलाई जिम्मेवारी लिएकाले सिध्याउन खोज्छ भने त्यो सरासर गलत हो ।’
गौतमको कुरा सुनेपछि प्रधानमन्त्रीको पारो चढ्यो । अनि उनले स्पष्ट शब्दमा भने, ‘म फागुन २८ को निर्णय फिर्ता लिन सक्दिनँ । त्यो केन्द्रीय समितिको निर्णय हो, सबैले मान्नुपर्छ ।’
प्रधानमन्त्री झन् दृढ भएपछि गौतमले पनि कडा शब्दमा आफ्ना धारणा राखेको स्रोतको दाबी छ । गौतमले दिएको सुझाव उल्लेख गर्दै स्रोत भन्छ, ‘तपाईं मेलमिलाप गर्ने कि नगर्ने ?’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।
प्रधानमन्त्रीले भने– ‘गर्ने ।’
वामदेवले त्यसैमा टेकेर भने, ‘मेलमिलाप भनेको आफ्नो कुरो मात्र अरुले मान्नुपर्छ भन्ने हो र ? मेलमिलाप तब मात्रै हुन्छ, जब मेलमिलापका पक्षहरू सबै एक कदम पछाडि हट्छन् । बल्ल मिलन सम्भव हुन्छ ।’
प्रधानमन्त्रीले मनको कुरो चुहाए ‘अहँ, म कसैसँग मेलमिलाप गर्दिन । मिल्नुको आवश्यकता देख्दिनँ ।’
प्रधानमन्त्रीले थपे, ‘उनीहरू (प्रचण्ड, माधव, झलनाथ) ले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन किन लागे ? अनि शेरबहादुरलाई किन उचाले ? त्यसमा तपाईं पनि लाग्नुभएको छ,’ प्रधानमन्त्री ओलीले मनको कुरो भनिहाले ।
लगत्तै गौतमले सोधे, ‘मैले कहाँ त्यस्तो भनेको छु ?’
गौतमको प्रश्न झर्न नपाउँदै प्रधानमन्त्रीले जवाफ दिए, ‘शेरबहादुरले मसँग भनेका छन् ।’
गौतमको जवाफ थियो, ‘तपाईंले पनि महन्थ र देउवाहरूलाई फरक ढंगले प्रस्ताव राख्नुभएको छ ।’
गौतमले प्रधानमन्त्रीलाई सोधे, ‘तपाईं म गृहमन्त्री हुँदाको टीकापुर घटनालाई राजनीतिक रंग दिन खोज्दै हुनुहुन्छ । गम्भीर अपराधका घटनामा जोडिएका र जेल परेकालाई छुटाउने प्रक्रियामा लाग्नुभएको छ ! बाहिर देखिनलाई त राजनीतिक घटना नै हो तर त्यो राजनीतिक मात्रै होइन, त्यसमा अपराध मिसिएको छ । तपाईं आँखा चिम्लिएर त्यो घटनालाई केही हैन भनेझैं गरी घटनामा संलग्नलाई माफी दिन खोज्दै हुनुहुन्छ, किन ? सत्ताका लागि ।’