काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ। कलंकीको मेघा पार्टी प्यालेसमा नेपाल स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको एक नेताले जानकारी दिए।
माधव नेपाल र झलनाथ खनाल पुगेपछि बैठक शुरू हुनेछ। भोलिदेखि उपत्यकामा निषेधाज्ञा लागू हुने भएकाले त्यसअघि नै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारविरूद्ध ल्याउने भनिएको अविश्वास प्रस्ताव दर्ता भइहाले आफूहरूको पोजिसन के हुने भन्नेबारेमा पनि नेपाल पक्षले छलफल गर्ने छ ।
प्रधानमन्त्री ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि पार्टीको सदस्य समेतबाट निलम्वन गरिसकेका छन् । त्यस्तै नेपाल सहितकै संघीय संसदका २७ सांसदलाई स्पष्टिकरण सोध्ने काम ओलीले गरेका छन् ।
उनीहरुले स्पष्टिकरण वुझाईसकेपनि के गर्ने भन्नेमा ओलीले निर्णय लिईसकेका छैनन । तर निर्णय गर्ने गरी अधिकार उनले आफु पक्षका नेतालाई मात्र सहभागी गराई बनाएको स्थायी कमिटिलाई दिएका छन् ।
प्रधानमन्त्री ओली सँग नझुक्ने र समानान्तर कमिटि बनाउँदै जाने अभियान चालेका खनाल नेपाल पक्षले अव कुन स्टेप चाल्छन् भन्नेमा अहिले सवैतिर चासो छ । त्यही भएर पनि नेपाल खनाल पक्षले आजको बैठकवाट लिने रणनीति राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।