काठमाडाैं- नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ।
आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको हाे ।
मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् । प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको हाे ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले दाबीका साथ भने, ‘आजै सपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’
आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरेका छन् ।
एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै पोखरेल त्यसको तयारीमा छन् ।
एमाले प्रवेश गरेपछि माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन पुग्ने संख्या हो ।
नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने चाल पाएका मुख्यमन्त्रीको चलाखी