काठमाडौं-कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ।
भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेका छन् ।
भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ।
अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पुर्याइएको थियो । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो ।
भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।
हिमनदी र अग्ला पहाडले घेरिएको देशको कतिपय ठाउँ जान सडकसम्म छैन । भुटान सरकार प्रत्येक नागरिकप्रति उत्तरदायी छ । कोरोना संक्रमित भइहाले स्वास्थ्यमा उच्च सतर्कता र सावधानी अपनाइएको छ।
तर, छिमेकी मुलुक भारतमा दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् । दैनिक कोरोना संक्रमित हुने दरमा भारत पहिलो स्थानमा छ । जहाँ दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा मात्रै सोमबार ७ हजार ३ सय ८८ संक्रमित थपिए । यो संख्या कोरोना महामारी फैलिएपछि हालसम्मको नयाँ रेकर्ड हो।
त्यस्तै, सार्क मुलुक पाकिस्तानमा दैनिक ४ हजारको संख्यामा संक्रमित थपिएका छन् । जहाँ ८ लाख ३४ हजार १ सय ४६ संक्रमित भइसकेको छन् । कोरोनाबाट मात्रै १८ हजार १ सय ४९ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानमा हालसम्म ६० हजार २ सय ८८ संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय ४२ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो समय अफगानस्तिानमा कोरोना संक्रमित हुने दरमा भने केही कमी आएको पाइन्छ ।
त्यस्तै, माल्दिभ्सिमा ३० हजार ७ सय ४५ संक्रमित भएको रेकर्ड छ । जहाँ हालसम्म ७४ जनाको कोरोनाबाट निधन भएको छ । श्रीलंकामा हालसम्म १ लाख ११ हजार ७ सय ५३ संक्रमित भएका छन् । जहाँ ६ सय ९६ संक्रमितको मृत्यु भइसकेको छ ।