काठमाडौं-निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडकचोक तथा सुरक्षा जाँच स्थलमा ‘ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन्।
कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ ।
अत्यावश्यक कामका लागि सवारी पास लिएकाभन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ।
काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोडगेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनकराज दाहालले अत्यावश्यकबाहेकका सवारीसाधनलाई समेत सञ्चालन गर्न दिँदा समस्या आएको बताए। बैङ्क तथा वित्तीय संस्था, विवाह, अस्पताल, खाद्य र तरकारी बोक्ने नाममा धेरै गाडी गुड्ने गरेका छन् । सोमबार बिहानदेखि साँझसम्म दुई हजार ६३ वटा सवारी नियन्त्रणमा लिइएको खबर आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए। यही १६ गतेबाट जारी एक हप्ता लामो निषेधाज्ञा २२ गते राति १२ बजेपछि पुनः थप गरी वैशाख मसान्तसम्म पु¥याइने भएको छ।