काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ।
यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसकैै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो।
राजनीतिक अविश्वास र संकट चुलिँदै गएका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन्।
प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत पाउलान् ? संसद्मा रहेका अन्य दलहरूको मात्र होइन, प्रधानमन्त्री ओलीकै पार्टी एमालेभित्र विवाद भएकाले आफ्नै सांसदको मत पनि उनको पक्षमा पर्ने स्पष्ट नभएकाे खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।
वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितले पार्टी अध्यक्षका रूपमा ओलीले विगतमा गरेका निर्णय नसच्याए सामूहिक राजीनामा गर्ने बताउँदै आएका छन्। माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
जसपाको समर्थनमा सके आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिने नभए निर्वाचनमा जाने उद्देश्यले उनले विश्वासको मत लिन लागेको भन्दै एक नेताले भने, ‘माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामा गरेमा ओलीको पक्षमा मात्र होइन, अर्को सरकार गठनको ढोका पनि बन्द हुने देखिन्छ।’