काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग विहीवार मध्यराति निवासमा भेटवार्ता भएकाे छ ।
मध्यरातसम्म ओली-नेपालवीच शीतलमा चलेकाे भेटवार्तामा ‘भद्र सहमति’ भएको दावी गरिएकाे छ । विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थितिमा ‘भद्र सहमति’ भएको बताइए पनि त्यसबारे नेताहरुले केही बताएका छैनन् ।
निर्णायक भनिएको छलफल राति १२ बजेसम्म चलेको थियो । नेपाली काग्रेसका सभापित शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि मिसिएपछि साे सहमति भएकाे स्राेतकाे दावी छ ।
नेपालले ओलीबाट कारवाही नहुने ग्यारेन्टी राष्ट्रपतिको उपस्थितिमै चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको स्रोतले जनाएको छ । राष्ट्रपतिले ओली र नेपालसँग विहीवार अलग अलग छलफल समेत गरेकी थिइन् ।
पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओली झस्किएका थिए ।
एमाले अध्यक्ष ओली र नेताद्धय भुसाल–भट्टराईको वार्ता भने झण्डै अझ अबेरसम्म चलेको थियो । छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् । उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् ।