काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच चुलिएको टकराब समझदारी नजिक पुगेको दाबी गरिएको छ।
बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा भएको ओली र नेपालबीचको संवाद समझदारी नजिक पुगेको र शुक्रबार दिनभरमा त्यसको परिणाम देखिने दाबी नेताहरुले गरेका छन्।
एमाले वरिष्ठ नेता नेपाल बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शीतलनिवास पुगेका थिए। त्यहाँ राष्ट्रपति भण्डारीकै पहलमा ओली र नेपालबीच संवाद भएको र त्यसले एउटा समझदारी विकास भएको दाबी नेपालनिकट एक नेताले गरे।
याे पनि,
मध्यरातसम्म ओली-नेपालवीच राष्ट्रपति निवासमा भेटवार्ता, ‘भद्र सहमति’ भएको दावी
राष्ट्रपतिको पहलमा पहिले टेलिफोनमा कुरा गरेका ओली र नेपालबीच पछि राष्ट्रपति भवनमा भेटसमेत भएको दाबी ती नेताले गरे। बिहीबार साँझ ओलीको सन्देश लिएर अर्थमन्त्री विष्णु पौडेलले नेपालपक्षका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका थिए।
माधव नेपालपक्षका नेताहरुमाथि गरिएको कारवाही फुकुवाबारे निर्णय लिएमा समझदारी बन्ने सम्भावना देखेपछि ओलीले त्यसबारे छलफल गर्न बालुवाटारमा एमाले स्थायी कमिटीका सदस्यहरुको बैठक बोलाएका छन्। बैठकले यसबारे निर्णय लिने एक नेताले बताए।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको निर्णय गर्न बैठक बोलाइएको र एमाले एकता तथा माधवकुमार नेपाल लगायतका नेताहरुमाथि भएको कारवाही लगायतका विषयमा पनि छलफल हुने बताए।