काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।
बिहीबार ओलीसँग लामो समय छलफल गरेका नेपालले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् अहिलेसम्म कुनै सहमति नभएको जानकारी गराएका हुन्।
शुक्रबार पनि ओली-नेपालले भेट्ने चर्चाबीच उनको यस्तो भनाइ आएको हो। नेता नेपालले आफूहरूले (नेपाल पक्ष) पार्टीको एकताका लागि वार्ता र लचकता दुवै अपनाउने बताएका छन्।
‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेपालले लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।’
नेता नेपालले कुनै पनि भ्रममा नपर्न, नअल्मिन तथा सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन आह्वान समेत गरेका छन्।
याे पनि,
ओली-नेपाल समझदारीको पहल, कारवाही फुकुवाबारे छलफल गर्न बालुवाटारमा बैठक
मध्यरातसम्म ओली-नेपालवीच राष्ट्रपति निवासमा भेटवार्ता, ‘भद्र सहमति’ भएको दावी