काठमाडौं- सत्तारूढ नेकपा (एमाले)मा चर्किएको शक्तिसंघर्षले निम्तिएको पार्टी विभाजन टार्न दुवै पक्षका नेताहरू सक्रिय भएका छन्।
शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच वार्ता भएको छ।
वार्तामा ओलीका तर्फबाट संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए। त्यस्तै, नेपालनिकट नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए।
नेता नेम्वाङले करिब साढे दुई घण्टा छलफल भएको र गम्भीर रूपमा कुरा भएको नेपाल लाइभलाई बताए। उनले पार्टीलाई एकतावद्ध बनाउन गम्भीर छलफल भएको र फेरि भेट्ने तय भएको बताए।
बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा ओली र नेपालबीच टेलिफोन संवाद भएको थियो। शुक्रबार दिनभर दुवैपक्षका नेताहरूले ओली र नेपालबीच वार्ता गराउने पहल जारी राखेका थिए।