काठमाडौं- महेन्द्रनगर उच्च अदालतको दिपायल इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई कोभिड संक्रमण भएपछि महाकाली अस्पतालको आइसियू बेडमा उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नभएपछि अघिल्लो बुधबार काठमाडौंबाट हेलिकोप्टर मगाइयो ।
उनलाई राजधानी पु¥याउन हेलिकोप्टर भाडा मात्र नौ लाख लाग्यो । काठमाडौंको करुणा अस्पतालमा उपचारपछि भट्टराई अहिले आराम गरिरहेका छन् ।
न्यायाधीश भएकाले हेलिकोप्टरमा लागेको नौ लाख भाडा सरकारले तिरेको छ । तर, विपन्न जनताले यत्रो पैसा कहाँबाट तिर्ने? यसै पनि कञ्चनपुरबाट काठमाडौँ सम्मको हेलिकोप्टर भाडा ६ हजार पाँच सय डलर (सात लाख ६७ हजार) तोकिएको छ ।
तर, विमानसेवा सञ्चालक संघ आफैँले तोकेकोभन्दा डेढ बढी लाख भाडा असुल गरेर हेलिकोप्टर कम्पनीहरूले जनतामाथि अत्याचार गरिरहेका छन् । उपचारबाट हात झिकेको सरकार हेलिकोप्टर कम्पनीले उद्धारका नाममा अत्याचार गर्दा मूकदर्शक बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
कञ्चनपुरकै भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरका स्थानीय एवं कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्राचार्य डा. राजकुमार साउदलाई पनि कोरोना संक्रमण भयो । होम आइसोलेसनमा बसेका उनी गम्भीर भएपछि गत सोमबार मात्र उनलाई लिन काठमाडौंबाट हेलिकोप्टर मगाइयो, भाडा उठाइएको छ– ९ लाख १५ हजार ।