काठमाडौं- जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् ।
पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका हुन् ।
महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए । ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने । जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन् ।
ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् । उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन् । जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् ।
पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन् । यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आफूले हस्ताक्षर नगरेको सुमनले बताए।
महतो निकट एक नेताका अनुसार ओली सरकारलाई विश्वासको मत दिन कि नदिने भन्ने विषयमा मतदान हुँदा तटस्थ बस्नुपर्ने लाइनमा महतो छन् । पार्टी फुट्नबाट जोगाउन तटस्थ बस्नुपर्ने महतोको धारणा रहेको ती नेताको भनाइ रहेकाे खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।
ओली सरकारले जसपाका सबै माग पूरा नगरेकाले सरकारलाई साथ दिनै पर्ने बाध्यता नभएको महतो पक्षधर नेताहरूको भनाइ छ । ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउन पहल नगरेपछि उनी टाढिएको महतो पक्षधर नेताहरूको भनाइ छ । ।