काठमाडाैं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नरहेको निष्कर्ष निकाल्दै असन्तुष्ट माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा एमालेको संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज (आइतबार) साँझ वा भोलि सोमबार बिहानसम्म सामूहिक राजीनामा दिने तयारी नेपाल पक्षका सांसदले गरेका हुन्।
शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।
‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्छौं ।’
आजको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निश्कर्ष निस्किएको ती नेताले बताए ।तर, यसबारेमा स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गरिने उनले बताए । ती नेताले भने, ‘आजै राजीनामा पत्र लेखिएको वा हस्ताक्षर गरिएको होइन, यसबारे भोलि स्थायी कमिटीमा छलफल हुन्छ ।’
वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको ती नेताले बताए । उनले भने, ‘अब यसको विकल्प देखिएन ।’