काठमाडौं- अघिल्लो दिनको तुलनामा देशमा शनिबार कोरोना सङ्क्रमण केही घटेको छ । शुक्रबार सार्वजनिक गरिएको कोरोना सङ्क्रमण विवरणमा नौ हजार १९६ रहेकोमा शनिबार आठ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको पाइएको छ।
वैशाख १६ गतेदेखि राजधानी उपत्यकालगायत कतिपय जिल्लामा कोरोना नियन्त्रणकै लागि निषेधाज्ञा लगाउन थालेपछि पहिलो पटक शनिबार सङ्क्रमण दरमा केही कमी आएको छ।
वैशाख १५ गते चार हजार ८९७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १० दिनपछि गएको शुक्रबार सङ्क्रमितको सङ्ख्या दोब्बरको हाराहारीमा पुगेको थियो । शुक्रबारको तुलनामा शनिबार केही कमी भएको पाइएपछि निषेधाज्ञाले कोरोना सङ्क्रमणको साङ्ग्लो चुडाउन थालेको हो कि जस्तो देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा थप आठ हजार २८७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जना सङ्क्रमित पाइएका छन् । अघिल्लो दिनभन्दा कोरोनाका कारण मृत्यु भने बढी देखिएको छ ।
शनिबार थप ५३ जना सङ्क्रमितको निधन भएको छ । शुक्रबार ५० जनाको निधन भएको थियो । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६३२ पुगेको छ । मन्त्रालयका अनुसार थप तीन हजार ३७० जना निको भएका छन् । हाल निको हुने दर ७७ दशमलव ४ प्रतिशत रहेको छ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८३ हजार ४९३ पुगेको छ भने क्वारेन्टाइनमा ३९८ जना रहेका छन्।