काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। संघीय संसद भवनमा आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उनले विश्वासको मत माग्ने भएका हुन्।
यस क्रममा उनले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।
यसैबीच आफ्नै पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपालनिकट सांसदले प्रधानमन्त्री ओलीलाई आफूहरूले भनेअनुसार पार्टीलाई २०७५ जेठ २ अर्थात् माओवादी केन्द्रसँग एकताभन्दा अघिको अवस्थामा फर्काउन राजी नभएर सामूहिक राजीनामा दिने बताइसकेका छन्।
त्यसका लागि उनलाई अहिले बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका छन्। विश्वासको मत माग्नुअघि सहमति भएन र नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिए भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ। त्यसपछि उनले पदबाट राजीनामा दिनुपर्नेछ।