काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पार्टीका सांसदलाई ओली सरकार हटाउने कार्यमा योगदान गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले भोलि सोमबार संसदमा विश्वासको मत माग्दैछन्।
त्यसैको पूर्वसन्ध्यामा जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आइतबार बसेको आफ्नो पार्टीको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको जानकारी दिएका हुन्।
यस क्रममा उनले आफ्ना सबै सांसदलाई प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई बिदा गर्नेतर्फ लाग्न आग्रह गरेका हुन्।
जसपामा डा. भट्टराई र उपेन्द्र यादव ओली पक्ष सरकारविरुद्ध छ भने अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीको समर्थनमा छ। जसले गर्दा जसपाका सांसद भोलि प्रधानमन्त्रीले माग्ने विश्वासको मतमा विभाजित हुने निश्चित छ।
यसैकारण डा. भट्टराईले आफू पक्षमा नरहेका आफ्नै पार्टीका सांसदलाई घुमाउरो तरिकाले ओलीका विपक्षमा मतदान गर्न अपिल गरेका हुन्।
‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ,’ डा. भट्टराईले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई बिदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं।’
संसदमा अहिले जसपाका ३२ सांसद छन्। तीमध्ये भट्टराई–यादव पक्षमा १८ सांसद रहेको दाबी गरिएको छ। बाँकी सांसद ठाकुरका पक्षमा छन्।