काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे पत्र पठाएका छन्। पार्टी एकता कायम राख्न भन्दै नेपालले आइतबार राति पत्र पठाएका हुन्।
पत्रमा सर्वोच्चको फैसलापछि पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुको सट्टा पार्टीको विधान मिचेर ओलीले केन्द्रीय कमिटी भंग गरेर कथित महाधिवेशन आयोजक कमिटी गठन गरेको आरोप छ।
त्यसरी आयोजक कमिटी गठन गर्दा आफू लगायतका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय गरिएको नेपालको पत्रमा उल्लेख छ।
‘त्यतिले मात्र नपुगेर तपाईले केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटीका सदस्य समेत चार जनालाई पार्टी सदस्यबाट नै निलम्बिन गर्ने तानाशाही निर्णय गर्नुभयो’, पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभाका हामी ३० जना सदस्यहरुलाई आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टिकरण सोध्नु भयो।’
प्रतिनिधि सभामा विश्वासको मतका लागिसमेत पार्टी भन्दा बाहिर समर्थनको लागि अनुनयविनय गरेको तर पार्टीमा आफ्नो गुटबाहेकको पंक्तिप्रति शत्रुवत् व्यवहार देखाएको पत्रमा भनिएको छ।
वार्ता गर्ने वा पार्टी एकता गर्नेभनी आफु निकट व्यक्तिहरुलाई खटाएझै गरेको मात्र नेपालको भनाई छ। नेपालले जेठ २ को अबस्थामा पार्टी फर्कनु पर्ने बताएका छन्।
नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्न माग नेपाल पक्षको छ।
पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्नु पर्ने, पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने लगायतका विषय नेपालले उठाएका छन्।