काठमाडौं- माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएका छन्।
संसदमा बहुमत पुर्याउन १३६ मत आवश्यक पर्दछ । एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद बस्नुअघि ओलीले कुनै अस्त्रको प्रयोग गर्न सक्ने अनुमान भइरहेको छ।
निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहन चाहेको कारणले पनि उनले आफू प्रधानमन्त्री नहुने भए जुनसुकै कदम पनि चाल्न सक्ने खतरा देखिएको खबर आजको नागरिक दैनिकले छापेको छ।
पटकपटक राष्ट्रपति विद्या भण्डारीसँगको भेटपछि ओलीले चाल्ने सम्भावित कदमप्रति यतिबेला सबै राजनीतिक दल सशंकित र सचेत देखिएका छन्।
माओवादी केन्द्रका कतिपय नेताले त आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था आएमा ओलीले सांसद लुकाउन पनि सक्ने अनुमान गरेका छन् । कोरोना भाइरसको निहुँ पनि उनका लागि उम्कने बाटो हुनसक्ने देखिन्छ।