काठमाडौं– नेकपा एमालेको माधव कुमार नेपाल पक्षले सांसदबाट राजीनामा नदिने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।
२ जेठ २०७५ को पार्टी संरचनामा फर्किने र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिवद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दिएको ‘डेडलाइन’ सकिएपछि सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिन प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सांसद भीम रावलले भने, ‘हामी पछाडि फर्किएका छैनौं । आज उहाँले विश्वासको मत माग्नु भएकाले उहाँलाई विश्वासको मत नदिँदा नै पर्याप्त हुने भन्ने निष्कर्षका साथ यो निर्णय गरेका छौं ।’ नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन समेत अरुलाई आग्रह गरेको छ ।
संविधान मिचेर संसद विघटन गरेको, राजनीतिक दल विभाजन गराएको, भ्रष्टाचारको संरक्षण गरेको, विश्वासको मत लिन एक दिनमात्र बाँकी रहँदा अध्यादेश जारी गरेर संवैधानिक परिषदबाट स्वेच्छाचारी किसिमले नियुक्तहरु गरेको आरोप नेपाल समूहले लगाएको छ ।
नेपाल समूहले यस्ता क्रियाकलाप गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत दिनु भनेको लोकतान्त्रिक दृष्टिकोणले लोकतन्त्रलाई कमजोर तुल्याउने, राजनीतिक नैतिकताको दृष्टिकोणले नैतिकताको दृष्टिकोणलाई ध्वस्त गर्ने र राजनीतिक स्थायित्व, स्वाधिनताका दृष्टिकोणबाट राज्यलाई कमजोर तुल्याउनु हुने निष्कर्ष निकालेको छ ।