काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सोमबार बोलाइएको छ । विश्वासको मतका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन चाहिन्छ ।
प्रधानमन्त्री ओलीले नेतृत्व गरेको दल नेकपा एमालेका १२१ सांसद छन् । तर माधवकुमार नेपाल समूहका सांसदहरुले मतदानमा सहभागी नहुने निर्णय गरेका छन् ।
६१ सांसद भएको नेपाली कांग्रेस र ४९ सांसदभएको माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरेका छन् । ३२ सांसद भएको जनता समाजवादी पार्टीले सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिएको छ ।
संविधानको धारा ७६ मा सरकार गठनका विभिन्न विकल्प छन् । संसदमा कुनै पनि दलको एकल बहुमत नभएकाले धारा ७६ (१) को प्रयोग हुन सक्दैन ।
धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । या धारा अनुसार पनि नयाँ सरकार गठनको सम्भावना अहिलेलाई टरेको छ ।
यद्यपि जसपा सिंगो पार्टी नयाँ सरकार गठनको पक्षमा नउभिँदा त्यो दाबीले मान्यता पाउने नपाउने बहस पनि थियो । तर नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको सम्भावना टरेको छ । यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।