काठमाडौं- प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।
प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए ।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।
सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।
प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।