म झिसमिसे बिहानीमा जव उड्थे
जताततै कालो देखिन्थे, काला रातहरु,
बत्ती नबलेका छिमिकेका घरमा,
काला ढुङ्गाले छाएका कालै घरहरु,
छिन छिनमा सेता, राता बिजुलि मिल्किदै,
एकाविहानै पानी पर्न तम्तयार निलो आकशमा, रुमलिएका काला बादलहरु,
डराउथे म एक्कासि सब कालोदेखेर, आफ्नो भबिस्य,
तर कताकता मन खुसी हुन्थ्यो,
जब त्यतिबेला नै देख्थे, घर तल चौतारिमा
फरफर-फरफर पातहरु फर्फराइरहेको,
वर पिपलको हरियो रुखको जोडी,
मेरो मनमा खुसिको हरियो सुरुवात हुन्थे,
नौलो दिनको, हरियो सपनाहरू सजाएर,
किनकि
मलाइ हरियो एक्दमै मन पर्थ्यो।
जब घर परिबार, आफन्तले उत्सब गर्थे,
माछा र मासुको मात्र परिकार हुन्थे,
माछाको पनि फिश फ्राइ, फिश ग्रेभि,
साना-साना माछाको अचार अनि यस्तै यस्तै,
मासुको पनि सुकुटी, भुटन, ग्रेवी, राेष्ट्र ,
भुडी फ्राइ, अनि पुलाउसंग खाने झोल हालेको मासु अनि त्यस्तै त्यस्तै
राखिएका हुन्थे क्रमशै, क्रमबद्ध रुपमा,
माछा मासुको विभिन्न परिकार सहितको,
ठुलो-ठुलो देक्चीहरु,
त्यहि लामको अन्तिम देक्चिदेखी अलिकति टाढा हुन्थे,
साना-साना बाताहरु,
तिनिहरुमा हुन्थेन् धेरै परिकारहरु,
कित हुन्थे हरियो ब्रोकाउली, हरियो क्यापसिकन,
कित हुन्थे हरियै रायोको साग,
अनि पक्कै हुन्थे हरियो काक्राको अचार,
शाकाहारीलाई पहिले खान दिनुपर्छ भन्दै,
आउथ्यो मेरो नै पालो,
म मासु नखाने जो थिए,
खुब मिठो मानिमानी खान्थे,
त्यो हरियो ब्रोकाउली अनि रायोको साग।
किनकी
मलाइ हरियो एकदमै मन पर्थ्यो।
साथिभाइहरुको पनि खुब भेटघाट हुन्थ्यो,
कहिले हरिया रमाइला जङ्गल गैन्थ्यो,
कहिले आज गुड फ्राइडे हो भन्दै,
कहिले कहाँ कहिले कसैको कोठामा भेला भैन्थ्यो,
अग्ला अग्ला बोतलहरु हुन्थे टेबलमा,
कुनै बियरका, कुनै ‘ओडि’,कहिले 8848,
त कहिले बसिन्थ्यो golden oak र खुकुरी रम मै,
त्यहि टेबलको कुनामा हुन्थ्यो,
रक्सीको बोतलको हुलमा हुन्थे ,
हरिया dew र sprite बोतलहरु,
जस्तो हुन्छ बकुल्लाको हुलमा एउटा काग,
कुनैले भन्थे नुहाइदिन्छौ,
कुनैले भन्थे पिलाइदिन्छौ,
कुनैले भन्थे उस्को खुशी हो,
साच्चैँ म आफ्नै खुशीमा रमाउथे,
उनिहरुको त्यो पट्यार लाग्दो गफ पनि सुन्थे,
बिना पट्यार, रमाइ रमाइ,
कटाईदिन्थे उनिहरुसङै पुरै रात,
तेहि हरियो dew र spriteपियेर,
किनकी,
मलाइ हरियो एक्दमै मन पर्थ्यो।
प्रकृतिमा घुमघाम म खुब मन पराउथे,
कल कल बग्ने खोलाहरु, झरनाहरु,
चराहरुको चिर्बिर आवाजहरु,
मृगहरुको उफ्राईहरु,
मुख्य त, हरियो बनजङलहरु,
घन्टा-घन्टा बसिरहन्थे, बस्न सक्थे,
ती अनकन्तार प्रकृतिमा ,
किनकी,
मलाई हरियो एक्दमै मन पर्थ्यो,
तर आजभोली मलाइ हरियो केही चिज नै मन पर्दैन,
तब देखि, जतिबेला साउनमा हरियो लामो पोते गलामा,
अनि हात भरी राता हरिया चुरा लगाइएको मेरो ममिलाई, हरियो जङ्गलको बिचबिच रहेको खोलामा लागि,
चुडाइयो राता हरिया पोतेहरु, फुटयाइए हरिया राता हातको चुराहरु, पुछिय राता सिउदोका सिन्दुर,
रङिय हातहरु चुरा फुटाउदा निस्केका राता रगतहरुले,
त्यतिबेलाबाट मलाई हरियो मन पर्न छाड्याे,
जब त्यो पशुपतिनाथको फराकिलो प्राङ्गणमा,
ती साघुरा हरिया बाँस माथी राखेर, एक्दमै सागुरो मन बनाउदै, बोकेर घुमेको थिए बुबालाई,
त्यसबेलाबाट मलाइ हरियो मन पर्न छाडयो,
जब सधै राता सारी र कुर्थाहरुमा,
दिनभरि गाउँ डुलेर बात मार्ने मेरो ममिलाई,
हरियो धोती अनि हरियै चोलो लगाएर,
आफ्नो कोठाको एउटा कुनामा एक्लै एक्लै
आफैसंग बात मारेको देख्छु, बर्बराइरहेको देख्छु।
दराज भरीका सारा राता सारीहरु फालेर,
कोठाको सानो ह्याङरमा दुई जोर हरिया फरिया देक्छु,
त्यसैले मलाई आजभाेली हरियो चिजहरु मन पर्नै छोडे,
त्यसैले साथिभाई सगै बसेर हरियो sprite र dew को बोतल खोलेर पिउनु लाग्दा,
लाग्छ मेरो हरियो लुगा लगाएकी ममिको, रगत पिइरहेछु,
जङ्गल घुम्न एकछिन भनेर निस्कदा,
जङल भरी देख्छु हरिया आमारुपी रुखहरु,
माैन बसिरहेका हुन्छ्न, पर्खिरहेका हुन्छ्न,
मेरा बुवा जस्तै हजारौं बुवाहरुलाई,
हरिया तर्कारीहरु खाउ न त भनेर,
यसो सब्जिमन्दी तिर चियाउदा,
देक्छु दसौं मुठ्ठा ओइलाएका साग, कर्कलो, न्युरोका मुन्टाहरु जो ग्राहक आउने आसै-आसमा,
आफ्नो आश मारिसकेर पनि हरियो देखिन, खोजिरहेका हुन्छ्न,आफ्नो गुण बचाईरहन,
अनि फेरि सम्झन्छु आफ्नै ममिलाई,
जो अपत्यारिलो भुतलाई सम्झेर,
बर्तमानमा पनि नपत्याई नपत्याई,
आफ्ना ओइलाएका सारा सपनाहरु बोकि,
खुसी बन्न खोजेजस्तो गर्नुहुन्छ,
हाम्रो खुसीको लागि,
हामीलाई खुसी बनाउनका लागी !
स्वगिय पिता टेकनिधि पाेखरेलकाे सम्झनामा प्रकाशित हुन लागेकाे सम्झनाका डायरीहरूबाट