गोरखा- गोरखा नगारपालिका–१३, अवुवा क्षेत्रमा अवैध रुपमा सालका काठ कटानी बढेको छ । स्थानीय बनदेवी सामुदायिक बन क्षेत्र आसपासमा निजी बनका नाममा जथाभावी सालको रुख कटानी भएको हो ।
स्थानीयबासीहरुले बनमा सालको काठ लुकीछिपी काटेर राखेको अबस्थामा भेटेपछि डिभिजन बन कार्यालय गाेरखालाई खबर गरेका थिए। काटिएको काठ आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अबस्था भेटिएको हो ।
सिरानचोक गाउँपालिका–६, छोप्राकका सुर्दशन शाही शंकटकालमा सालका रुख कटान गरि तत्कालीन समयमा दोषी पाई फरार रहेका व्यति हुन् । उनले आफ्नो निजी प्रयोजनका काठ काटेकाे दावी गरेका छन् । उनीसंगै स्थानीय पूर्व गाविस सचिव तथा नेपाली कांग्रेसका नेता बलबहादुर पन्त मार्फत विभिन्न विवादमा तानिदै आएका गोरखा नगरपालिका मेयर राजनराज पन्तसमेतको संग्लन रहेको स्रोतको दावी छ ।
त्यसमा पनि स्थानीय निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीबाट वडाअध्यक्षका उम्मेदवार रहेका स्थानीय रामभक्त खनाल* मार्फत गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य समेत संग्लन भएको स्रोत दावी गर्छ । उनीहरूले अबैध सालका रुख कटानीमा संलग्नलाई कारवाही नगर्न बन कार्यालय, स्थानीयबासी समेतलाई कार्वाहि नगर्न दवाव दिईरहेका छन् ।
शाहीले थुपारेर राखेको भनिएको स्थानमा करिब ३५ थान (साढे ३५ क्युफिट) काठ फेला परी अहिले वन कार्यालयले सो क्षेत्रमा कटान भएका सालका काठलगायत अन्य अवैध तरिकाले कटान भएका काठ बरामद गरि वन कार्यलय गोरखा लगेको छ ।
शाहीले सामुदायिक बनसंग जोडिएको क्षेत्रमा बिना अनुमति आफ्नो निजी बन भन्दै सालको रुख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिएपनि स्थानीयबासीले काठ बिक्रि बितरणका लागि काटेको आंशका गरेका छन् । ‘घर बनाउनका लागि एउटा मात्र काटिन्थ्यो होला’, एक स्थानीयले भने ‘त्यहाँ त एकै ठाउँमा ५ वटा जति सालको रुख काटिएको छ, एउटा घर बनाउन त्यति धेरै रुख किन काट्नु पर्थ्याे र ?’
कानुनमा निजी बन नै भएपनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । ‘आफ्नो निजी बन क्षेत्र भएका बिभिन्न २३ प्रजातीका रुख अनुमति बिना काट्न पाइन्छ’, कार्यालय प्रमखु श्रेष्ठले भने, ‘सालका रुखहरु अनुमति बिना काट्न नपाइने कानुनी व्यवस्था छ ।’
रुख काटिएको क्षेत्रमा अन्य कुकाठका रुखहरु पनि ढलिरहेको अबस्थामा भेटिएको स्थानीयको भनाई छ । शाहीले भुकम्पको घर निर्माणका लागि काठ काटेको बताएपनि उनले यस अघि नै भुकम्पको एक कोठे घर निर्माण गरेर अनुदान बुझिसकेका छन् ।
कसरी जोडिए मेयर पन्त
सालका काठ तस्कर गर्ने तस्करीहरुले मेयरको दवावका कारण काठ लिन आएको ट्रयाक्टर फिर्ता पठाउन पूर्व गाविस सचिव तथा स्थानीय कांग्रेस नेता पन्त सक्रिय भएर लागेका छन् । उनै पन्तले मेयर पन्तसंगको सहकार्यमा सो काठ रोक्न खोजेको स्रोत दावी गर्छ ।
जेठ १६, २०७७ मा जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि भन्दै सदरमुकाम तर्फ लैजादै गरिएको अबैध काठ सहित संलग्न व्यक्तिलाई बन कार्यालय गोरखाले नियन्त्रणमा लिइएको थियाे ।
सांसद आचार्यको सचिवलायले भन्यो : दोषीमाथि छानविन सहित कार्वाहीको दायारामा ल्याउनुपर्छ
प्रदेश सांसद आचार्यको सचिवलायले भने सो कुराको खण्डन गरेको छ । सांसदका स्वकीय सचिव रविन आचार्यमार्फ जारी प्रेस विज्ञप्तीमा भनिएको छ– ‘बिरामी भएर अस्पतालमा कोभिडसँग मुकाविला गरिरहनु भएका माननीयलाई जोडेर समाचार लेखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ । सरोकारवाला बन कार्यालयले समेत छानविनको प्रकृयामा रहेको बताइरहँदा अनावस्यक व्यक्तिगत रुपमा माननीयसँग नजोड्न अपिल गर्दछु । निर्दोष नफसुन् र दोषीमाथि छानविन सहित कार्वाहीको दायारामा ल्याउनुपर्छ भन्नु दोषीको वचावट होला कि के होला ? सबैले बुझ्ने कुरा यहि छ ।’
याे पनि,
जिल्ला प्रहरी कार्यालय गाेरखाकाे भवन निर्माणका लागि बोर्लाङबाट ‘अबैध काठ तस्करी’
*खनालले समाचारकाे खण्डन गरेका छन्- ‘समाचारमा उल्लेख गरे बमोजिम उक्त घटनामा मेरो कुनै संलग्नता नरहेको कुरा स्पष्ट पार्न चाहन्छु । त्यस क्षेत्रलाई प्रत्यक्ष निगरानी गर्ने स्थानीय बनसमिति, वडा कार्यालय लगायतका पदाधिकारी तथा प्रतिनिधिहरु र स्थानीयहरुको सहयाेगमा तयारी गरिएकाे समाचारमा केवल मेरो राजनीतिक र सामाजिक जीवनमा चरित्र हत्या गर्ने मनशायले प्रकाशित भएको मेरो ठहर छ । मेरो आफ्नो स्थानीय क्षेत्र भएकोले यस घटनाप्रति मेरो व्यक्तिगत रुपमा पनि चासो र सरोकारको विषय हो । राजनीतिक आडमा कुनै पनि अवैध कार्य हुनु हुदैन भन्ने मेरो व्यक्तिगत मान्यतासमेत रहेको छ तसर्थ यस घटनामा संलग्न दोषीलाई दोषी पाइएमा कार्वाही हुनु पर्छ ।’