काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि अग्रसरता लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसार गठबन्धनको सरकार निर्माणका लागि बिहीबार राति ९ बजेसम्मको समय दिएपछि सभापति देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिएका हुन् ।
नयाँ सरकार गठनबारे देउवाले मंगलबार पदाधिकारी बैठकमा छलफल गरे भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि परामर्श गरेका छन् ।
बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सभापति देउवाकै नेतृत्वमै सरकार गठनका लागि बहुमत जुटाउने निर्णय गरेको छ । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबारसम्म बहुमत जुटाएर राष्ट्रपति भण्डारीलाई जानकारी गराउने बताए ।
हामीले सभापतिकै नेतृत्वको सरकारका लागि बहुमत जुटाएर बिहीबार राष्ट्रपतिलाई जानकारी गराउँछौँ, पौडेलले भने । बहुमतको सरकार गठनका लागि १ सय ३६ मत आवश्यक पर्छ । कांग्रेसको ६१ र माओवादी केन्द्रको ४८ मत छ । देउवा नेतृत्वको सरकार निर्माणका लागि ३२ सिट रहेको जसपाको पूर्ण साथ आवश्यक पर्छ ।
ठाकुर समूहले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरिसकेको छ । सोमबार मध्यरातिमा विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले अहिलेको आवश्यकता ओली सरकार नै रहेको भन्दै नयाँ सरकार गठनमा सहभागी नहुने बताएका छन् ।
जसपालाई एकजुट बनाउँदै नयाँ सरकार बनाउने अभियानमा सामेल गर्न कांग्रेसले प्रयत्न गर्ने महतले बताए । ‘समग्रमा जसपा एकजुट भएर नयाँ सरकार बन्ने अभियानमा सामेल होस् भन्ने हामी चाहन्छौँ,’ पदाधिकारी बैठकपछि महतले भने, ‘त्यसका लागि हाम्रो सम्पूर्ण कोसिस हुन्छ।