काठमाडौं- सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् ।
माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।
‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो’, खनाल–नेपाल पक्षका एक नेताले भने, ‘समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’
गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर देउवाको नेतृत्वमा सरकार गठन गर्नको लागि माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको हल्ला चलेको अवस्थामा देउवा र नेपालबीच भने सात बुँदे सहमतिको खाका मोटामोटी तयार भैसकेको उच्च स्रोतको दाबी छ ।
हिजो अवेर रातिसम्म बुढानिलकण्ठमा भएको देउवा नेपाल भेटवार्तामा सहकार्यको लागि ७ बुँदे सहमतिको प्रस्ताव तयार पारिएको उच्च स्रोतको दाबी छ । सहमतिको पहिलो बुँदामा माधव नेपाल पक्षधरले राजीनामा दिने कुरा भनिएको छ ।
दोस्रो बुँदामा देउवा सरकार बनिसकेपछि उक्त सरकारमा नेपाल पक्षका कम्तिमा पनि ६ जनालाई मन्त्री बनाईने, तेस्रोबुँदामा राजीनामा दिएका नेपाल पक्षधर सबैलाई गठबन्धनको रुपमा उम्मेद्धवार बनाएर उपनिर्वाचनमार्फत जिताउने, चौथो बुँदामा चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने, छैटौं बुँदामा नेपाल पक्षले निर्माण गर्ने नयाँ पार्टीको लागि आवश्यक सहयोग गर्ने र सातौं बुँदामा आगामी संसदको निर्वाचनमा पनि गठबन्धन बनाएर जाने कुरा उल्लेख रहेको स्रोतको दाबी छ ।