काठमाडौं- गण्डकी प्रदेशमा बिहानैदेखि मुख्यमन्त्री को बन्ने भन्ने दौड शुरु भएको थियो। प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङ र प्रतिपक्ष मोर्चाबाट नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीको दौडमा थिए।
नेपाली बहुमतको आधारमा मुख्यमन्त्री हुने दौडमा थिए भने गुरुङ पहिलो ठूलो दलको संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री हुने दाउमा रहेका थिए।
विपक्षी दल सत्ता यात्राका लागि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई मनाउने कसरतमा थिए भने एमाले जनमोर्चालाई रोक्ने दाउमा थियो। यसै क्रममा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाही तटस्थ बसेपछि अन्तत: गुरुङ नै मुख्यमन्त्री नियुक्त भए। उनले बुधबार नै पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।
जनमोर्चाको केन्द्रीय तहबाट थापालाई स्पष्टीकरण सोधियो। उनलाई संसदीय दलको नेताबाट हटाएको जानकारी गराइयो। जनमोर्चाकी सांसद पियारी थापाले कांग्रेस नेतृत्वको मोर्चालाई सर्मथन रहेको दाबी गरिन्। यो पत्र लिएर नेपाली कांग्रेसले प्रदेश प्रमुख सिताकुमारी पौडेललाई बुझायो।
तर, आफूले हस्ताक्षर नगरेको र सरकार बनाउने कुनै पनि मोर्चामा नरहेको भन्दै जनमोर्चाका दुई सांसदहरु कृष्णा थापा र खिमविक्रम शाहीले प्रदेश प्रमुखलाई जानकारी गराए। यी सबै घटनाक्रम अनुसार प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दिएको अवधि समाप्त भएको भन्दै १६८ (३)को प्रक्रिया अघि बढाइन्।
उक्त व्यवस्था अनुसार प्रदेश सभामा धेरै सांसद रहेको संसदीय दलको नेताले मुख्यमन्त्रीको बन्न पाउने उल्लेख छ। यो व्यवस्था अनुसार फेरि पनि एमालेका पृथ्वी सुब्बा गुरुङ पुन: मुख्यमन्त्री बने।
दिनभर सत्ताको खिचातानीमा अल्झिएको गण्डकी प्रदेशमा भरपर्दो उपचारको अभावमा बुधबार १६ जना कोरोना संक्रमितले ज्यान गुमाए। ९ सय ४२ जना संक्रमित थपिए। यो सँगै गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ८४ पुगेको छ। हालसम्म ३ सय ४ जनाले ज्यान गुमाएका छन्।
बुधबार गण्डकी प्रदेशको कास्कीमा २३५, गोरखामा २३, तनहुँमा १४, नवलपरासी पूर्वमा ५७, पर्वतमा १३, मनाङमा २८, मुस्ताङमा २७, म्याग्दीमा ४२, लमजुङमा ५, बागलुङमा ५ र स्याङजामा ७१ जनामा कोरोना पुष्टि भएको थियो।